जनज्योति कृषि सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ अनुसार कृषि सहकारीअन्तर्गत स्थापना भएको संस्था हो । यो संस्था २०६८ भदौ २५ गते जिल्ला कृषि विकास कार्यालय सप्तरीमा विधिवत् रूपमा दर्ता भई सुरु गरिएको हो । तत्कालीन समयमा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहँदा स्थानीयहरू वित्तीय सेवाबाट वञ्चित रहेका कारण अधिकांश साहु महाजनले वित्तीय बजारमा कब्जा जमाएको अवस्था थियो । मलेठ, वसबिटीलगायत क्षेत्र स्रोत साधन तथा व्यापारिक दृष्टिले सम्भावनायुक्त क्षेत्र भए पनि बैंक तथा वित्तीय संस्थान हुदा सम्भावनाहरू उजागर हुन सकिरहेका थिएनन् । कृषिका लागि उर्वर मानिने सप्तरीमा कृषकले मल, खाद, बिउ विजनको अभाव खेपिरहनुपरेको अवस्था थियो । यिनै अवस्थालाई सम्बोधन गर्ने सोचअनुरूप स्थानीय समाजसेवी, बुद्धिजीवी, व्यापारी तथा किसानको अगुवाइमा छलफल गरी सहकारी संस्था स्थापना गर्नुपर्छ भन्ने अवधारणाअनुरूप ‘जनज्योति कृषि सहकारी संस्था लिमिटेड’नामकरण गरी संस्था स्थापना भएको हो । सुरुको अवस्थामा २५ जना सेयर सदस्यको २५००००।– सेयर पुजीबाट, मलेठ, बसबिटी, हरिहरपुर, जमुनीमधेपुरा कार्यक्षेत्र बनाई कारोवार सुरु गरेको हो ।
जिल्लाभरि नै कार्यक्षेत्र बनाई सहकारीमा आधारित वित्तीय सेवा, लघुवित्त कार्यक्रम, तथा कृषिप्रवद्र्धन (रासायनिक मल बिक्री तथा सेलर मिलमार्फत धान प्रशोधन), एम्बुलेन्स सेवा तथा रेमिट सेवालगायत कार्यक्रम सञ्चालनसमेत गरी अगाडि बढिरहेको छ ।
१८९९ जना
संस्थाले हालैका दिनमा आफ्ना सदस्यलाई लक्ष्य गरी कोरोना भाइरस (कोभिड १९) सम्बन्धी सचेतना, सो सम्बन्धी बिमाको व्यवस्था गरिएको छ । त्यसैगरी, संस्थाले सञ्चालनमा ल्याएको मोबाइल बंैकिङ एपमार्फत घरै बसी आफ्नो खाताबाट रकमान्तर गर्न, कर्जाको भुक्तानी गर्न, रिचार्ज तथा टपअप गर्न सम्मको सुविधासमेत पाएका छन् ।
आगामी १० वर्षभित्र संस्थाका सम्पूर्ण सेवा एवं क्रियाकलापलाई पूर्णतया डिजटलाइज गर्ने संस्थाको योजना छ । जसअन्तर्गत सहकारी वित्तीय सेवातर्फ मोबाइल एप्लिकेसनमार्फत खाता खोल्ने फाराम भर्ने, कर्जा माग गर्नेलगायत सुविधा प्रदान गरिनेछ भने लघुवित्ततर्फका सदस्यहरूले केन्द्र बैठकमा गर्ने सम्पूर्ण वित्तीय कारोबार पूर्णतया डिजटलाइज गरी कागजरहित सेवा प्रदान गर्ने योजना छ । यसका अतिरिक्त सदस्य सुरक्षणका सिद्धान्तहरूको पालना सदस्यको गुनासा सुन्ने एवं निराकरण गर्ने संयन्त्रको निर्माण, सदस्य सन्तुष्टि एवं बहिर्गमन सर्वेक्षण, सदस्य सूचना गोपनीयतासम्बन्धी नीति तर्जुमालगायत थुप्रै नीतिगत एवं प्रक्रियागत कार्यमा संस्थाले सफलता प्राप्त गरिसकेको छ ।